‘सिमेन्टमा अस्वस्थ प्रतिस्पर्धा हुँदा मूल्य घट्यो’

पछिल्लो समय सिमेन्टको मूल्य घटिरहेको छ। नेपालमा सिमेन्टका लागि स्वदेशी तथा विदेशी लगानी पनि थपिइरहेको छ। नेपालबाट विदेशमा सिमेन्ट निर्यात गर्न सकिने अवस्था के छ? यस्तै विषयमा सेतोपाटीले प्युठान सिमेन्टका प्रवन्ध निर्देशक कुन्दन जोशीसँग गरेको कुराकानीको संपादित अंशः

नेपालमा सिमेन्टको बजार कस्तो छ? मूल्य किन घटिरहेको हो ?

अहिले सिमेन्टको मूल्य घटिरहेको छ। पछिल्लो समय सिमेन्ट उद्योगहरु धेरै भएर प्रतिस्पर्धा बढेको हुँदा मूल्य घटेको हो । नेपालमा सिमेन्ट उत्पादन गर्ने ६१ वटा उद्योग र २१ वटासँग क्लिङकर छन्। उनीहरुले सिमेन्टको उत्पादन तिब्र रुपमा गरिरहेका छन्। भुकम्पपछिको पुर्नर्निमाणमा पनि धेरै सिमेन्टको माग भयो। अहिले पुर्निर्माण सकिदैं गएको छ। विद्युतको पर्याप्त आयात हुँदा उद्योगहरुले पूर्ण क्षमतामा उत्पादन गरिरहेका छन्। जसकारण मूल्य घटेको हो।

सिमेन्ट उद्योगमा तीब्र प्रतिस्पर्धा छ त ?

हो, प्रतिस्पर्धा छ। र, अस्वस्थ प्रतिस्पर्धा पनि छ । नेपालमा अहिलेसम्म २१ वटा कम्पनीले क्लिङकर उत्पादन गर्छन् र अन्य कम्पनीलाई दिन्छन्। केही उद्योगले भारतबाट ल्याएपनि धेरै उद्योगले नेपाली क्लिङकर प्रयोग गर्छन्। क्लिङकरमा एउटा एमजिओ भन्ने रोग हुन्छ। त्यो सिमेन्टको क्यान्सर हो। जसले सिमेन्टको गुणस्तरमा दूरगामी प्रभाव पार्छ।

कुनै पनि घर बनाउँदा ५० वर्ष आयु अनुमान गुणस्तर विभागले गरेको छ। तर, बजारमा मिसावट भएका सिमेन्टहरु आइरहेका छन्। कम्पनीहरुले सिमेन्टमा स्टोन डस्ट लगायतका अनावश्यक वस्तु हाल्ने गरेका छन्। त्यस्तै उद्योगीहरुबीच सबैभन्दा धेरै व्यापार गरेर नाफा कमाउनुपर्ने दबाव पनि छ। यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको छ र सिमेन्टको मूल्य पनि घटिरहेको छ। उद्योगीले कसरी त्यो मूल्यमा सिमेन्ट बेचिरहेका छन् भन्नेमा सरकारले पनि नियमन गर्नुपर्छ। सरकारले आफ्नो मापदन्डअनुसार छ कि छैन हेर्नुपर्छ।

सिमेन्ट गुणस्तरीय हो/होइन कसरी थाहा पाउने?

मापदण्ड नेपाल गुणस्तर विभागले हेर्ने गर्छ। त्यसो त अहिले नेपाल सरकारले मापदन्ड अनुगमन गरेर कारबाही पनि गरिरहेको छ। जुन अझै तदारुपता देखिन जरुरी छ। त्यसरी उत्पादन गर्ने सँगै बेच्नेलाई पनि कारबाही गर्नुपर्छ। त्यसपछि मात्रै जनचेतना आउँछ।

उपभोक्ताले सिमेन्ट किन्न पैसा तिरेपछि कम्पनीले उनीहरुको लागि गुणस्तरीय सामान दिनुपर्छ। बिक्री गर्ने हार्डवयरले पनि गुणस्तरीय सामान मात्रै बेच्नु पर्छ। यो सस्तो छ यो लिनुस् भनेर सामान भिडाउनु हुँदैन।नेपालका उद्योगहरु क्वालिटीमा सचेत छैनन्।

सामान बेच्न र पैसा कमाउन पाए हुन्छ। उद्योगबाट उत्पादन हुने सबै सामानको मापदण्ड हुनुपर्यो र त्यसको कार्यन्वयन पनि हुनुपर्छ । घर निर्माण प्रत्यक्ष रुपमा जनतासँग जोडिएको कुरा हो। त्यसैले यसमा सरकार पनि सचेत हुनुपर्छ।

अहिलेसम्म हाम्रोमा निमार्णको ठेक्का कुनै ठेकेदारलाई दिएपछि सबै जिम्मेवारी उसैको हुन्छ। उसैले आफूलाई मनपर्ने सामान ल्याउँछ।

यस्तो अवस्थामा कसरी सचेत हुने?
त्यसको लागि सबैभन्दा बढी इन्जिनियरसँग सहकार्य गर्नुपर्छ। किनभने हाम्रोमा ठेकेदारहरु सबै हार्डवयरहरुसँग मिलेका हुन्छन्। उनीहरुले कमिसनको चक्करमा सस्तो सामान प्रयोग गर्छन्।

रंग कम्पनीले पेन्टरलाई समातेर कमिसन दिएर आफ्नो रंग प्रयोग गर्न लोभ्याउँछन्।
अहिले सरकारले हरेक गाँउपालिकामा इन्जिनियरहरु पठाएको छ। उनीहरुसँग सल्लाह गरेर सिमेन्टको प्रयोग गर्नुपर्छ। उनीहरुले पनि राम्रोसँग बुझेर सल्लाह दिनुपर्छ। ठेकेदारलाई विश्वास गर्नु भनेको उपाभोक्ताको मुर्खता हो।

सिमेन्टको उत्पादन माग भन्दा बढी छ। अझै नयाँ उद्योगहरु थपिदै‌ छन्। यस्तोमा हामीले सिमेन्ट निर्यात गर्न सक्छौ?

हामीले निर्यात गर्ने भारतमा हो। त्यो त हामी गर्न सक्दैनौ किनकि भारतमै सस्तोमा सिमेन्ट पाइन्छ। नेपाली सिमेन्टले प्रतिस्पर्धा गर्नै सक्दैन।त्यसमा पनि सरकराले निर्यात नीति बनाउनु पर्छ। सरकारले कर नीति सुधार गरे उनीहरुसँग प्रतिस्पर्धा गर्न सकिन्छ। तर, पछिल्लो समय नेपालमै पनि धेरै जलविद्युत आयोजनाहरु बन्दै छन्। यसको निर्माणको गति तीब्र भयो भने यहि खपत हुनसक्छ। निर्यात गर्नु पर्दैन।

सिमेन्टको ग्रेडको चर्चा निकै हुन्छ, के हो ग्रेड भनेको?
सजिलो भाषामा ग्रेड भनेको सिमेन्टको गुणस्तर हो। ५३ ग्रेड सम्मका सिमेन्ट नेपालमा पाइन्छ यो सबैभन्दा उच्च ग्रेड हो। सामान्यतया जुन निर्माणमा पकड शक्ति बलियो चाहिन्छ त्यसमा बढी ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ। ठूला निर्माणमा ५३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ। त्यस्तै सामान्य घर निर्माण ४३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ। नेपाल गुणस्तर विभागले ३३ ग्रेड सम्मको सिमेन्टलाई बिक्री गर्ने मान्यता दिएको छ। तर त्यसको पनि सही अनुगमन भएको छैन। त्यसैले हरेक दिन सिमेन्ट कम्पनीले उत्पादन गरेको सिमेन्टको गुणस्तर मापन गर्नुपर्छ। तर धेरै कम्पनीले मट्टी सिमेन्ट बजारमा पठाइरहेका छन्।

सिमेन्टमा त हामी आत्मनिर्भर भयौ, क्लिङ्करमा कहिले आत्मनिर्भर हुने?
सिमानामा भएका केही कम्पनीले ल्याएका होलान्। तर, धेरैजसो उद्योगले अहिले नेपाली क्लिङ्कर नै प्रयोग गर्छन्। सिमानामा भएकाहरुले उताबाटै ल्याउँदा ढुवानी सस्तो पर्ने भएकाले भारतिय क्लिङकर प्रयोग गर्छन्।

सिमेन्टमा प्रयोग हुने चुनढुङ्गाको गुणस्तर ठाँउअनुसार फरक पर्छ?
पर्दैन। पाल्पामा भएको सिमेन्ट उद्योगले आफ्नो ठाउँको नामबाट तान्सेन सिमेन्ट नाम राख्यो। त्यस्तै, हामीले पनि प्यूठानको क्लिङकर प्रयोग गर्ने भएकाले प्यूठान नाम राख्यौं।

नेपालमा बन्दाबन्दैका पुलहरु भाँचिएको खबर सुनिन्छन्। निर्माणाधीन संरचनाका यस्ता कमजोरि निर्माण सामाग्रीको कि इन्जिनियरको?

त्यसमा इन्जिनियरको गल्ति हुँदैन। इन्जिनियरले त यो सामान हाल भनेको हुन्छ। निर्माणको जिम्मा पाएको ठेकेदारले पहिलो लटमा राम्रो सामाग्रीको प्रयोग गर्छ। दोस्रो लटदेखि उसले गुणस्तरहीन सामान हाल्न सुरु गर्छ। त्यसकारण संरचना कमजोर हुन्छन्।

कुनै ठूलो दुर्घटना हुदाँ प्राकृतिक विपत्ती भएको अवस्थामा संरचना भत्किनु फरक कुरा भयो। त्यसमा निर्माण सामाग्रीको कुनै दोष हुँदैन। तर बन्दाबन्दैको संरचना भत्किनुमा गुणस्तरहीन सामान नै हो।

केहीले सिमेन्टको धुलो हेरेर गुणस्तर कस्तो छ थाहा पाइन्छ भन्छन्। यो साचो हो?
हो। त्यसको पकड शक्ति बढी हुन्छ। एक चिम्टी सिमेन्ट हातमा लिएर मज्जाले फुक्ने, फुक्दा सिमेन्ट टाढा पुग्यो भने त्यो राम्रो मानिन्छ। किनभने हलुका सिमेन्ट उडेर माथीसम्म पुग्छ। ढिका भएको सिमेन्ट भए त्यति परसम्म पुग्दैन । यसरी पनि परीक्षण गर्न सकिन्छ। अहिले आएको भिआरभि टेक्नोलोजी राम्रो छ। यसले सिमेन्टलाई धूलो पार्छ। यसकारण सिमेन्ट परीक्षण गर्न पनि सहज हुन्छ।

किन सर्वसाधारणले प्यूठान सिमेन्ट नै प्रयोग गर्ने?
गुणस्तरको लागि। तपाई आफ्नो घर बनाउँदै हुनुहुन्छ र लामो समयसम्म सुरक्षित भएर बस्न चाहानुहुन्छ भने प्युठान सिमेन्ट प्रयोग गर्नुहोस्। म चुनौति दिएर भन्न सक्छु हाम्रो जुनसुकै ठाउँबाट रेण्डम सेम्प्लिङ गरेर चेक गर्दा हुन्छ हामीले क्वालिटीमा कुनै कम्प्रोमाइज नै गरेका छैनौ।

मानिसहरु पैसा कमाउनको लागि निकै कमसल सामान बेचिरहेका छन्। के हाम्रो जिवनको उद्देश्य पैसा कमाउने मात्रै हो त। सामान लगेर बनाएको घर भत्किदा उपभोक्तालाई पिडा हुँदैन। उद्योगीले उपभोक्तालाई सामाजिक प्राणीको रुपमा सोच्नुपर्छ।

साभार : https://www.setopati.com/

Post your Comments

NAME *
EMAIL *
Website